बाँकेमा निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरीद्वारा सम्मानसहित बिदाई
बाँके, सुरज मेघनाथ — निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लामा खटिएका निर्वाचन प्रहरीहरूलाई सशस्त्र प्रहरी बल नेपालले सम्मानसहित बिदाई गरेको छ।
निर्वाचन अवधिभर जिल्लाका विभिन्न मतदान स्थल तथा संवेदनशील क्षेत्रको सुरक्षामा खटिएका ३०३ जना निर्वाचन प्रहरीले करिब ४० दिनसम्म जिम्मेवारीपूर्वक कार्य गर्दै निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
Advertisement
उत्कृष्ट कार्यसम्पादन गरेका ती निर्वाचन प्रहरीहरूलाई आज आयोजित एक कार्यक्रममा स–सम्मान बिदाई गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल बागेश्वरी ३० नम्बर गण बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्द तथा ४२ नम्बर रिजर्भ गण बागेश्वरी सम्शेरगञ्ज बाँकेका सशस्त्र प्रहरी उपरीक्षक श्याम रावतले निर्वाचन प्रहरीहरूको योगदानको प्रशंसा गर्दै बिदाई गरेका हुन्।
कार्यक्रममा बोल्दै उनीहरूले निर्वाचन अवधिभर अनुशासन, समर्पण र कर्तव्यनिष्ठाका साथ निर्वाह गरिएको भूमिकाले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन महत्वपूर्ण सहयोग पुगेको बताए। साथै, सुरक्षाकर्मीहरूको सक्रियता र प्रतिबद्धताले निर्वाचन व्यवस्थापनमा सकारात्मक प्रभाव परेको उल्लेख गरिएको थियो।




















प्रतिक्रिया